काठमाण्डौं, भाद्र १
विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारकार्य थप अन्यौलमा परेको छ । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेपछि समस्या थपिएको हो । कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न परिपत्र गरेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । अहिले पनि करिब ८० हजारभन्दा बढी नेपाली विदेशमा उद्धारको प्रतिक्षामा रहेको दूतावासहरुको तथ्यांकले देखाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र अरु २ सय जना वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्चेर २ सय जना गरी दैनिक ५ सय जना उद्धार गर्ने निर्णय गरेको थियो । त्यसरी फर्किने कामदारलाई काठमाडौंमै ७ दिनसम्म राखेर पीसीआर गरेर मात्रै घर जान दिने निर्णय भएको थियो ।
उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले नै मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको हो । कोरोना संक्रमण जारी रहेको, विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको क्वारेन्टिनका लागि होटल व्यवस्था भएको जानकारी नआएको सीसीएमसीले पत्रमा उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले पनि सूचना निकालेर उडानहरू स्थगित भएको जानकारी दिएको छ ।