काठमाण्डौं, माघ १३ ,
गायिका आस्था राउत चार दिन प्रहरी हिरासतमा बस्नुहुने भएको छ । प्रहरी कर्मचारी रमिशा श्रेष्ठमाथि दुव्र्यवहार गरेको आरोपमा राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले अनुमति दिएपछि राउत कम्तीमा चार दिन हिरासतमा बस्नुहुने भएको हो । कार्यक्रममा सहभागी हुन भारतको चेन्नई जान हिडेकी राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरी कर्मचारी रमिशाले उजुरी गर्नुभएको थियो ।
त्यस लगतै जिल्ला प्रशासन कार्यालयकै अनुमतिमा प्रहरीले गएको माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरी राउतलाई फरारको सुचिमा राखेको थियो । चेन्नईबाट काठमाण्डौं फर्कना साथ आफन्त संगै आस्था सोमबार महानगरीय प्रहरी परिसर, टेकुमा पुग्नुभएको थियो । महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत प्रहरीले सार्वजनिक गरेको थियो । गायिका राउत पक्राउ पछि उहाँको पक्ष र बिपक्षमा सामाजिक संजालहरुमा टिकाटिप्पणी भैरहेका छन् ।