काठमाण्डौं, माघ ४,
अन्ततः गायिका आस्था राउतलाई प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले गायिका आस्था राउतलाई कारबाहीको अनुमति दिएपछि प्रहरीले राउतलाई पक्राउ गर्ने भएको हो । राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा प्रशासनले पक्राउको अनुमति दिएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हो । गायिका आस्था राउतलाई बिमानस्थलमा जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा राउतविरुद्ध उजुरी दिएका थिए । उजुरी परेपछि कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाइएको थियो ।
प्रहरी जवान श्रेष्ठले आफू ड्यूटीमा रहँदा राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिनुभएको थियो । गायिका आस्था राउतले भने आफूलाई महिला प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाउनुभएको थियो । दुई पटक सम्म सामाजिक संजाल फेसबुक मार्फत गायिका राउतले आफूलाई महिला प्रहरीले दुब्र्यवहार गरेको भन्दै दुखेसो पोख्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयले गायिका राउतलाई पक्राउका लागि अनुमति दिएसँगै उनलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेको जनाएको छ । बिमानस्थलमा गायिका राउत र प्रहरीबिच भएको भनाभनका बारेमा प्रहरीले सिसि टिभिमा खिचिएको भिडियो सार्वजनिक गरेको थियो । त्यसपछि गायिका र प्रहरीबिचको भनाभनको भिडियो बाहिर ल्याउन सक्ने प्रहरीले बिमानस्थलका ३३ किलो सुनकाण्ड, बिदेशबाट आएका सामानका चोरी जस्ता कुराहरु बाहिर ल्यान नसक्ने भन्दै उल्टै प्रहरीको आलोचना भएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।