काठमाण्डौं, माघ ३,
पैसा कमाउन दक्षिण कोरिया पुगेका दुई नेपाली यूवाको ज्यान गएको छ । काम गर्ने क्रममा तनहुँका नर बहादुर राना मगरको ज्यान गएको हो भने छल्लाबोक्दोस्थित एक बङ्गुरफार्ममा काम गर्ने पाँचथरका विवेक राईले आत्महत्या गरेका हुन् । तनहुँका रानाको कम्पनीमा छिगेछा ( सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको जनाइएको छ । अविवाहित राना चार वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर फेरी केही महिनाअघि मात्र कोरिया पुगेका थिए ।
ज्यान गुमाउने राई आफू कार्यरत फार्मभित्रै मृत फेला परेका हुन् । दुई महिना अघि कोरिया पुगेका अविवाहित राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउँदै आएका संगै काम गर्ने नेपालीहरुले जनाएका छन् । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको र उनीहरुको शब नेपाल पठाउने प्रयास भएको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।