पाल्पा, पौष २१,
आउने शनिबार तानसेनमा हुन लागेको नेवारी भोजको तयारी तिब्र पारिएको आयोजक असनटोल टोल विकास संस्थाले जनाएको छ । ‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व, सुन्दर तानसेन बनाउने हाम्रो कर्तव्य’ भन्ने नाराका साथ पुस २६ गते असनटोलस्थित नेवा छेमा हुने नेवारी भोजको तयारी अन्तिमचरणमा पुगेको टोलबिकास संस्थाकी अध्यक्ष अनुजा बज्राचार्यले जानकारी दिनुभयो । नेवारी समुदायको संस्कृति संरक्षणको आयोजना गरिएको भोजमा सहभागी अतिथिलाई गुन्द्रीमा बसाई सालको पातबाट बनाइएको टपरीमा खुवाउने तयारी भएको अध्यक्ष बज्राचार्यको भनई छ । नेवारी खानाका सबै परिकार समाबेशन हुने भोजमा योेमरी, मासबाट बनाइएको बारा, पाँच प्रकारका तरकारी मिसाएर बनाएको पन्चकोल, मेथीकुवा, दहि, चिउरा, कुखुराको मासुको छोइला, माछा, खसीको मासुबाट बनाइएको परिकार, अण्डा, सगुन, विभिन्न प्रकारका फलफूल मिसाएर बनाएको परिकारहरु हुने छन् ।
भोजमा सहभागी हुनेले सातसय रुपैयाँ तिर्नुपर्ने आयोजकले जनाएका छन् । दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा ३ सय बढी सहभागी हुने अनुमान गरिएको छ । नेवारी भोजको संस्कृति हराउदै गएकोमा चिन्ता जनाउँदै स्थानीय मदनलाल बज्राचार्यले परापूर्वकालदेखि नेवारी भोजमा प्रयोग हुँदै आएका खानाका परिकारबारे युवा पुस्तालाई समेत जानकारी होस भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । नेवारी भोज संगै नेवारी संस्कृतिको रुपमा रहेको धिमे बाजाको गित नाच समेत प्रस्तुत गरिने टोल बिकास संस्थाकी सचिव सुनिता थैवले जानकारी दिनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।